'ईविल आई': के साँच्चै नकारात्मक ऊर्जा हटाउँछ?

'ईविल आई': के साँच्चै नकारात्मक ऊर्जा हटाउँछ?

काठमाडौं । हिजोआज धेरै घर, अफिस र गाडीमा एउटा अनौठो तर आकर्षक सजावट देखिन थालेको छ । गाढा नीलो घेराभित्र सेतो, आकाशे र कालो रङको गोलाकार प्रतीक । कतै यसलाई वाल ह्यांगीङको रूपमा प्रयोग गरिएको छ भने कतै गहनाको रुपमा पनि प्रयोग गरिएको देखिन्छ । तर वास्तवमै यो के हो, कहाँबाट आयो र किन यति लोकप्रिय बन्दै गएको छ? आजको लेखमा यसबारे चर्चा गरौँ ।

के हो 'ईविल आई'? (What is Blue-Eyed Amulet?)

ईविल आईलाई नकारात्मक ऊर्जा र दुष्ट नजरबाट जोगाउने प्रतीक मानिन्छ । यसको उत्पत्ति प्राचीन Mesopotamia क्षेत्रमा भएको विश्वास गरिन्छ, जुन पछि Greece, Turkey लगायतका भूभागमा फैलियो । ती स्थानका मानिसहरूले ईर्ष्या र खराब दृष्टिबाट बच्न यो जन्तर बनाउने र धारण गर्ने चलन सुरु गरेका थिए ।

समयक्रममा व्यापार, युद्ध र धार्मिक परम्परासँगै यो विश्वास मध्यपूर्व हुँदै दक्षिण एसियासम्म फैलियो । आज पनि Egypt, टर्की लगायतका देशहरूमा नवजात शिशुलाई दुष्ट नजरबाट जोगाउन यो जन्तर उपहार दिने परम्परा कायमै छ ।

प्रयोग र महत्व (Significance of the Blue-Eyed Amulet)

ईविल आईले ईर्ष्या, डर, आक्रोश तथा अन्य नकारात्मक ऊर्जाबाट जोगाउने विश्वास गरिन्छ । त्यसैले यसलाई गहना, घरको सजावट, अफिस डेस्क र सवारीसाधनमा व्यापक रूपमा प्रयोग गरिन्छ । गहनाको रूपमा लगाउँदा मानसिक सन्तुलन कायम रहन्छ भन्ने जनविश्वास छ । गाडीमा झुन्ड्याउँदा दुर्घटनाबाट बचाउने र यात्रा सुरक्षित बनाउने मान्यता पनि प्रचलित छ ।

कतिपय संस्कृतिमा भने यसलाई गोलीगाँठो (ankle) मा लगाउनु उपयुक्त नमानिने विश्वास पनि पाइन्छ ।

वास्तुशास्त्रले के भन्छ? (What Does Vastu Shastra Say?)

वास्तुशास्त्र अनुसार ईविल आईले नकारात्मक ऊर्जालाई परावर्तन गर्ने, सकारात्मक ऊर्जा बढाउने र आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने मान्यता छ । घरको मुख्य ढोकामा झुन्ड्याउँदा नकारात्मक ऊर्जा भित्र पस्न नदिने भनाइ छ । बैठक कोठामा राख्दा पारिवारिक वातावरणमा सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास छ ।

सुत्ने कोठामा राख्दा निद्रा लाग्ने, बगैंचाको रुखको उत्तरतर्फ झुन्ड्याउँदा घरमा प्रवेश गर्ने नकारात्मक ऊर्जा परावर्तित गर्ने जनविश्वास छ । कार्यालयमा राख्दा कर्मचारीबीच सकारात्मक भावना ऊर्जा प्रवाह हुने र व्यवसायमा राम्रो प्रभाव पर्ने विश्वास छ ।

कसरी छान्ने र कसरी हेरचाह गर्ने?

विशेषज्ञहरूका अनुसार ईविल आई किन्दा यसको रङ स्पष्ट र चम्किलो भएको हेर्नुपर्छ । धेरै फिका वा चिरा परेको जन्तर प्रभावकारी नहुने विश्वास छ । प्रयोगपछि कहिलेकाहीँ सफा पानीले धोएर घाममा सुकाउँदा यसको ऊर्जा पुनः सक्रिय हुने भनाइ पनि छ ।

भाँचिएको वा फुटेको ईविल आईलाई भने तुरुन्तै हटाएर नयाँ प्रयोग गर्नु राम्रो मानिन्छ । 

वैज्ञानिक दृष्टिकोण के भन्छ?

वैज्ञानिक रूपमा ईविल आईले नकारात्मक ऊर्जा रोक्ने  प्रमाणित तथ्य भने कहीँ भेटिँदैन । तर मनोविज्ञानले “Placebo Effect” भन्ने अवधारणा स्वीकार गर्छ । जसअनुसार कुनै वस्तुले आफूलाई सुरक्षित बनाउँछ भन्ने विश्वासले मानिसको मनोबल बढाउँछ र तनाव कम गर्न मद्दत गर्छ । यही कारण नीलो आँखाको जन्तर लगाउने वा घरमा राख्ने व्यक्तिहरू मानसिक रूपमा बढी शान्त र सुरक्षित महसुस गर्न सक्छन् ।

रंग विज्ञान (Color Psychology) अनुसार नीलो रंग शान्ति, विश्वास र स्थिरताको प्रतीक मानिन्छ । नीलो रंगले दिमागलाई रिल्याक्स गराउने, रक्तचाप घटाउन सहयोग गर्ने र चिन्ता कम गर्ने प्रभाव पार्न सक्छ । त्यसैले नीलो आँखाको जन्तर हेर्दा मानिसलाई अवचेतन रूपमा शान्त अनुभूति हुन सक्छ ।

अर्कोतर्फ, सांस्कृतिक मनोविज्ञानले पनि यस्तो जन्तरको प्रभावलाई स्वीकार्छ । पुस्तौँदेखि समाजमा जरा गाडेको विश्वासले मानिसको व्यवहार र सोचमा गहिरो प्रभाव पार्ने भएकाले, यसलाई प्रयोग गर्दा आत्मविश्वास बढ्ने र नकारात्मक सोच घट्ने सम्भावना रहन्छ ।

ईविल आई केवल सजावट होइन, यो इतिहास, संस्कृति, विश्वास र मानसिक स्वास्थ्यको संगम हो । पुस्तौँदेखि यससँग जोडिएको सांस्कृतिक विश्वासले, आज सजावट, गहना र जीवनशैलीसँग जोडिँदै आधुनिक रूप लिइरहेको छ । नकारात्मक ऊर्जाबाट जोगिने विश्वास होस् वा मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्ने अनुभूति, ईविल आई धेरैका लागि आत्मविश्वास र सन्तुलनको प्रतीक बनेको छ । अन्ततः, यसको वास्तविक शक्ति हाम्रो विश्वास र सोचमै निहित हुन्छ । सकारात्मक दृष्टिकोण अपनाउँदै जीवन जिउन प्रेरित गर्ने माध्यमका रूपमा यसलाई लिनु नै यसको सार्थक प्रयोग हो ।

 

 

0 Icon description
Babina Timalsina

Suggested

Liked Commented