काठमाडौं । सहरको कोलाहल, धुवाँधुलो र निरन्तरको दौडधुपबाट थकित मन मस्तिष्कलाई हलुका गर्न चाहनेहरूको पहिलो रोजाइ बन्दै गएको छ 'हाइकिङ' । अझ उपत्यकामा त साथीसंगीसँग रमाउँदै, गफिँदै हाइकिङ जाने प्रचलन बढ्दो छ । प्रकृतिको काखमा यसरी बिताइने केही घण्टाले दिमागलाई रिल्याक्स बनाउने मात्र होइन, दैनिक जीवनमा फर्किँदा ऊर्जा र उत्पादकत्व बढाउन पनि मद्दत गर्छ ।
आजको लेखमा हामी काठमाडौं उपत्यका नजिकका लुकेका हाइकिङ डेस्टिनेसन हरूको बारेमा चर्चा गर्दैछौं, जहाँ प्रकृति, दृश्यावलोकन र साहसिक यात्रा एकैसाथ अनुभव गर्न सकिन्छ ।
१. तारेभीर

काठमाडौंको उत्तरी भेगमा पर्ने तारेभीर शिवपुरी राष्ट्रिय निकुञ्जको एक भाग हो । नामजस्तै तारेभीरको कहालीलाग्दो भीरले यस स्थानलाई चर्चित बनाएको छ । प्राकृतिक दृश्य र उपत्यकाको मनोरम दृष्य अवलोकन गर्नेहरूका लागि तारेभीर उत्तम गन्तव्य बन्दै गएको छ ।
यहाँबाट काठमाडौं उपत्यकाको दुई भिन्न रूप देख्न सकिन्छ । एउटा घना बस्तीले भरिएको व्यस्त शहर र अर्को कृषि कर्ममा व्यस्त रमणीय गाउँ ।
तारेभीर पुग्नको लागि सबैभन्दा सजिलो र छोटो रुट गोकर्णस्थित निजामति शहीद स्मृति पार्क हो । यहाँबाट करिब डेढ देखि दुई घण्टाको हिडाइमा तारेभीर पुग्न सकिन्छ । लामो यात्रा गर्न चाहने यात्रुहरू शिवपुरी हुँदै वा बुढानीलकण्ठ देउवाचोकबाट पनि तारेभीर पुग्न सकिन्छ ।
तारेभीरको मुख्य आकर्षणमा काठमाडौं उपत्यका र त्रिभुवन विमानस्थलको मनोरम दृश्य, वरिपरिका पहाड र हिमाल, साथै स्थानीय तामाङ बस्ती र सांस्कृतिक अनुभव पर्दछ । यात्राका क्रममा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा अझ यस यात्रालाई रोमाञ्चक बनाउँछ ।
२. सुर्यगढी

काठमाडौंको उत्तर–पश्चिमी भेगमा पर्ने सुर्यगढी नुवाकोट जिल्लामा अवस्थित एक रमणीय हाइकिङ स्थल हो । यहाँको शान्त वातावरण र मनोरम दृश्यले यसलाई प्रकृति प्रेमीहरूको लागि आकर्षक गन्तव्य बनाएको छ ।
सुर्यगढीबाट देखिने मनमोहक हिमालका दृश्य, कल–कल बगिरहेको फलाखु खोला, र चारैतिर हरियाली फाँटहरूले प्रकृतिको अमूल्य चित्र प्रस्तुत गर्छ । त्यस्तै यहाँ बनेको ढुंगाका पर्खालले वीरताको कथा र हावाले शान्तिको अनुभूति दिन्छ ।
काठमाडौंबाट करिब 35 किलोमिटर दूरीमा रहेको यस स्थानमा गाडीबाट करिब २ देखि ३ घण्टा लाग्छ । र गाडबाट झरेर ३०–४० मिनेटको पैदल यात्रा गर्नुपर्छ । ट्रेल सजिलो र छोटो भएकाले परिवार, साथीभाइ वा एक्लै यात्रा गर्न चाहनेका लागि उपयुक्त मानिन्छ ।
सुर्यगढी नेपालको इतिहास बोकेको धार्मिक र ऐतिहासिक गढि पनि हो । पृथ्वीनारायण शाहको पालादेखि नेपाल–चिन–तिब्बत युद्धमा हाम्रो पुर्खाको वीरता र बलिदानको कथा यसले समेटेको छ ।
३. बोसन डाँडा

दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडा समुद्री सतहबाट १६ सय मिटर उचाइमा छ । ह्वाइट हाउसको नामले परिचित बोसन डाँडा छोटो समयको घुमघाम तथा पदयात्रा गर्न चाहानेका लागि उपयुक्त गन्तव्य हो । पुरानो बसपार्कबाट टौदहसम्म बसमार्फत र त्यहाँबाट अफ-रोडिङ हुँदै बोसनडाँडा सम्म पुग्न सकिन्छ । बोसनडाँडाको चुचुरोमा पुग्न टौदहबाट सामान्यतया तीन घण्टा पैदल यात्रा तय गर्नुपर्छ ।
एक किम्वदन्ती अनुसार, जब महामञ्जुश्रीले खड्गले काटेर उपत्यकाको पानी बाहिर पठाए, पानीसँगै बग्दै कर्कोटक नाग पनि बाहिरिन लाग्यो । कर्कोटकलाई रोक्न र उपत्यकामा स्थायी व्यवस्था गर्नका लागि टौदह ताल बनाइयो रसो ताल खन्दा निस्केको माटो थुप्रेर यो बोसन डाँडा बनेको भनिन्छ ।
यहाँबाट काठमाडौं उपत्यका, हिमशृंखला, चोभार गुम्बा र टौदह ताल र सिकालीको मैदानको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
४. चम्पादेवी हाइकिङ

उपत्यकाको दक्षिण–पश्चिममा भागमा अवस्थित चम्पादेवी डाँडा काठमाडौं र मकवानपुरको सिमाना हो । घना जंगलले घेरिएको यो क्षेत्र प्रकृतिको समिपमा हराउनेहरुका लागि उपयुक्त हुन्छ ।
चम्पादेवी पुग्न चोभारको टौदहबाट हाइकिङ सुरू गरेर दक्षिणकाली मन्दिर हुँदै नजिकको पुरानो नेवारबस्ती फर्पिङ हेर्दै पुग्न सकिन्छ । यसबाहेक पनि चम्पादेवी जान अन्य पदमार्ग पनि छन् । भञ्ज्याङ हुँदै सार्वजनिक यातायात प्रयोग गर्दा पनि हुन्छ । भञ्ज्याङबाट हात्तीवन रिसोर्टसम्म पुगिन्छ । रिसोर्टबाट हरियाली जंगल हुँदै चम्पादेवी पहाडको चुचुरोमा पुग्न करिब तीन घण्टा हिँड्नुपर्छ ।
चम्पादेवी जाने अर्को रूट कीर्तिपुरको मच्छेगाउँबाट छ । यहाँबाट करिब पाँच घण्टामा चम्पादेवी हाइट पुगिन्छ । गन्तव्यमा पुगेपछि गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ । यात्राका क्रममा चराचुरुङ्गीको चिरबिर आवाज त सामान्य भयो, जंगली जनावरसमेत देख्ने मौका मिल्न सक्छ ।
चम्पादेवी नामको विषयमा एक किंवदन्ती सुन्न पाइन्छ । किंवदन्तीअनुसार भगवान् मञ्जुश्री स्वयम्भू आउँदा साथमा दुई श्रीमती ल्याएका थिए । एउटी मर्ददेवी (केशानी) जसलाई लक्ष्मी भनिन्छ र अर्की उपकेशानी (सरस्वती) थिए । त्यतिबेला काठमाडौं जलमग्न थियो । त्यसैले उनले दुई श्रीमतीलाई अग्ला डाँडामा बास गर्न पठाए । फुल्चोकी (२,८००मिटर)मा केशानी र चम्पादेवी (२,३००मिटर)मा उपकेशानीलाई पठाए । अनि उनले चोभारको डाँडालाई आफ्नो खड्गले काटी पानीको निकास दिएर काठमाडौंमा बस्ती बसाए । त्यतिबेलादेखि डाँडामा देवीको बास रहेको मानिन्छ ।
त्यसै गरी डाँडामा चम्पाका फूल पाइने भएकाले चम्पादेवी भनिएको भनाइ पनि छ । नेवार भाषामा चम्पादेवीलाई (धिनचो) भनिन्छ । परापूर्वकालमा शिख बुद्धले ध्यान बसेको ठाउँ भएकाले नेपाल भाषामा ध्यान बसेको ठाउँलाई ध्यान ‘छे’ भनिएको र पछि धिनचो भनिएको भनाइ छ ।
डाँडामा बुद्ध स्तुप पनि छ । हावाले फर्रफराईरहेका बुद्ध झन्डाले चम्पादेवीलाई थप पवित्र र आकर्षक बनाएको छ ।
५. बेथानचोक

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पदयात्राका दृष्टिले प्रसिद्ध पर्यटकीयस्थल हो । समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित ‘बेथानचोक नारायणस्थान महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ ।
एक किंवदन्ती अनुसार भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको भनिन्छ ।
यहाँ पुग्नका लागि धुलिखेलबाट २५ किलोमिटर र काठमाडौंबाट ५५ किलोमिटरको दुरी तय गर्नुपर्छ । ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउराली चौरसम्म सवारी साधनमा जान सकिन्छ । त्यहाँबाट ४५ मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ ।
यहाबाट सगरमाथा, नुप्से, मकालु, लाक्पा दोर्जे, सिसापाङ्मा, जुगल, गणेश, मनास्लु, गोरखा, माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, लाङटाङ र गौरीशंकर जस्ता अग्लो चुचुराहरू सहित हिमालयको दृष्य अवलोकन गर्न सकिन्छ । प्रायः बिहान सबेरै र साँझमा बादम माथि भएको अनुभन समेत लिन सकिन्छ ।
यो गन्तव्यमा एक दिनमै पुगेर काठमाडौं फर्किन सकिन्छ। सूर्योदय र सूर्यास्तका लागि पनि यो ठाउँ रमाइलो छ। यहाँ जाडोमा हिउँ पर्छ।


