विश्वका प्राचीनतम धर्महरूमध्ये एक हो हिन्दू धर्म, जसको उद्गम दक्षिण एशियामा भए पनि यसको प्रभाव ऐतिहासिक प्रवासन, सांस्कृतिक आदान–प्रदान र सामाजिक संरचनाहरू मार्फत विश्वका विभिन्न भूभागमा फैलिएको छ । यस धर्मले केवल आध्यात्मिक जीवनलाई मात्र निर्देश गरेको छैन, बरु सामाजिक मूल्य, संस्कार, कला, संगीत, साहित्य र जीवनशैलीमा पनि गहिरो छाप छोडेको छ । धेरै मानिसहरू हिन्दू धर्मलाई मुख्यतः दक्षिण एसियासँग मात्र जोडेर हेर्छन्, तर वास्तवमा यसको प्रभाव विश्वका विभिन्न भागहरूमा फैलिएको छ । विश्वका धर्महरूको जनसांख्यिक अवस्था हेर्दा केही देशहरूमा हिन्दू जनसंख्या प्रतिशत उल्लेखनीय रूपमा बढी देखिन्छ । जनसांख्यिक तथ्यांकका आधारमा विश्वमा सबैभन्दा धेरै हिन्दू प्रतिशत भएका पाँच देश यसप्रकार छन्:
नेपाल

नेपाल विश्वकै सबैभन्दा बढी हिन्दू बाहुल्य राष्ट्रको रूपमा चिनिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार करिब नेपालमा ८१.१९% जनसंख्याले हिन्दू धर्म अवलम्बन गर्छन् । वि.सं. १८२४ मा राज्य एकीकरण भएदेखि वि.सं. २०६३ सम्म नेपाल आधिकारिक रूपमा “हिन्दू अधिराज्य” थियो। यद्यपि सन् २००६/२००७ पछि नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भए पनि यसको सांस्कृतिक, सामाजिक र धार्मिक पहिचान अझै पनि हिन्दू बाहुल्य समाजसँग गहिरो रूपमा गाँसिएको छ ।
नेपाल हिन्दू सभ्यताको प्राचीन केन्द्रको रूपमा प्रतिष्ठित छ । यहाँको भौगोलिक र धार्मिक सम्पदा, जस्तै पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिर, केवल तीर्थस्थल नभई सांस्कृतिक पहिचानका अविभाज्य प्रतीक हुन् । नेपाली जीवनशैलीमा चाडपर्व र वैदिक संस्कारहरू गहिरो प्रभाव राख्छन् । दशैँ, तिहार, महाशिवरात्रि, तीजजस्ता पर्वहरू न केवल धार्मिक उत्सव हुन्, तर सामाजिक मेलमिलाप, पारिवारिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीक पनि हुन् । जन्मदेखि मृत्युसम्मका वैदिक संस्कार नामकरण, उपनयन, विवाह, अन्त्येष्टि नेपाली समाजको अभिन्न अंग बनेका छन् ।
भारत

हिन्दू धर्मको जन्मस्थल, विश्वकै सबैभन्दा ठूलो हिन्दू जनसंख्या बोकेको राष्ट्र हो अर्को देश हो ‘भारत’ । यहाको कुल जनसंख्य मध्ये करिब ७८.९% ले हिन्दू धर्म मान्दछन् । यहाँका वेद, उपनिषद्, रामायण र महाभारतजस्ता ग्रन्थहरूले न केवल धार्मिक मार्गदर्शन प्रदान गरेका छन्, भारतीय सभ्यता, दार्शनिक चिन्तन र सांस्कृतिक परम्परालाई समृद्ध बनाएका छन् । भारतका प्रमुख तीर्थस्थलहरू वाराणसी, काशी विश्वनाथ मन्दिर र तिरुपति बालाजी मन्दिर अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध छन् । दीपावली, होली, नवरात्रि, रथयात्रा आदि पर्वहरूले सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुता झल्काउँछन्, साथै भारतीय संस्कृति र जीवनशैलीमा गहिरो छाप छोडेका छन् ।
यो पनि पढ्नुहोस् : घडी किन देब्रे हातमा लगाइन्छ?
मौरिसस

नेपाल र भारतपछि अफ्रिकी महादेशमा पर्ने यस सानो टापु राष्ट्र हो ‘मौरिसस’ । जहाँ हिन्दु बाहुल्यता छ । यहाँका करिब ४८.४% जनसंख्या हिन्दू धर्मावलम्बी रहेका छन् । यो तथ्यले दक्षिण एशियाबाहिर पनि हिन्दू परम्पराको गहिरो प्रभाव रहेको प्रमाणित गरेको छ । १९औँ शताब्दीमा भारतीय मजदुरहरू मौरिससको उखु बगानमा काम गर्न पुगेका थिए, र उनीहरूले आफ्नो धर्म, भाषा र संस्कारलाई नयाँ भूमिमा संरक्षण गर्दै समृद्ध बनाएका थिए । यहाँ धेरै रङ्गीन मन्दिरहरू छन्र गंगा तलाउ (Grand Bassin) जस्ता पवित्र स्थानहरू लोकप्रिय छन् । यहाँका हिन्दुहरूले मुख्यतया शिवरात्रि, दीपावली र अन्य चाडपर्वहरू हर्षोल्लासका साथ मनाउँछन्
फिजी

प्रशान्त महासागरको दक्षिणमा अवस्थित टापु राष्ट्र ‘फिजी’ । जहाँको दोस्रो ठूलो धर्म नै हिन्दु हो । यहाँको कुल जनसङ्ख्याको करिब २७.९% मानिसहरू हिन्दू धर्मावलम्बी छन् । ब्रिटिश उपनिवेशकालमा भारतीय आप्रवासीहरू फिजी पुगेका थिए, र उनीहरूले मन्दिर, विद्यालय तथा सांस्कृतिक संस्थाहरू स्थापना गरेर आफ्नो सांस्कृतिक र धार्मिक पहिचान जोगाएका छन् । श्री शिव सुब्रमण्य मन्दिर फिजीको प्रमुख हिन्दू मन्दिर हो । यहाँ दीपावली, होली र अन्य हिन्दू पर्वहरू राष्ट्रिय स्तरमा मनाइन्छन्, जसले धार्मिक सहअस्तित्व र सांस्कृतिक समृद्धिको उदाहरण प्रस्तुत गर्छ । दक्षिण एशियाबाट टाढा भए पनि फिजीमा हिन्दू परम्परा कायम छ ।
यो पनि पढ्नुहोस् : 'ईविल आई': के साँच्चै नकारात्मक ऊर्जा हटाउँछ?
गुयाना

दक्षिण अमेरिकामा अवस्थित गुयानामा करिब २३.३% जनसंख्या हिन्दू धर्म पालन गर्छन् । १९औँ शताब्दीमा भारतीय आप्रवासीहरूको आगमनसँगै यहाँ हिन्दू धर्मको स्थापना भएको हो। इन्डो–गुयानिज समुदायले दत्तात्रेय आश्रम जस्ता तीर्थस्थलहरू निर्माण गरेर आफ्नो सांस्कृतिक र धार्मिक परम्परालाई निरन्तरता दिएका छन्। दीपावली, होली र अन्य पर्वहरूमा यहाँका हिन्दू समुदायले आफ्नो पहिचान र सामाजिक सम्बन्धलाई सुदृढ राखेका छन्।
समग्रमा हेर्दा, नेपाल र भारत हिन्दू सभ्यताको मूल केन्द्र हुन् भने मौरिसस, फिजी र गुयानामा हिन्दू धर्म ऐतिहासिक प्रवासन र सांस्कृतिक संरक्षणका कारण स्थापित भएको छ।
निष्कर्ष
हिन्दू धर्मको विश्वव्यापी उपस्थितिले यसको ऐतिहासिक गहिराइ, आप्रवासन र सांस्कृतिक सहनशीलतालाई प्रतिबिम्बित गर्छ । हिमालयको देश नेपालदेखि भारत, मौरिसस र फिजीका टापुहरू हुँदै दक्षिण अमेरिकाको गुयानासम्म हिन्दू समुदायहरूले आफ्नो परम्परा जोगाउँदै आएका छन् । यी पाँच राष्ट्रहरूले हिन्दू धर्म केवल एक भौगोलिक क्षेत्रको आस्था नभई विश्वव्यापी सांस्कृतिक, धार्मिक र आध्यात्मिक प्रभाव बोकेको जीवनदर्शन हो भन्ने कुरा प्रमाणित गरेका छन् । जसले समाज, संस्कृति र मानव मूल्यहरूमा स्थायी योगदान पुर्याएको छ।


