घडी किन देब्रे हातमा लगाइन्छ?

घडी किन देब्रे हातमा लगाइन्छ?

काठमाडौं । तपाईंले कहिल्यै सोच्नुभएको छ, घडी किन देब्रे हातमा नै लगाइन्छ? यो केवल सहजताका लागि होइन, बरु यसको इतिहास विज्ञान र व्यवहारिक कारणहरूसँग सम्बन्धित छ । 

यस लेखमा हामी पकेट वाच (Pocket Watch) देखि आधुनिक हातेघडि (Wrist Watch) सम्मको यात्रा र आधुनिक परम्परासम्मको विकासलाई विस्तारमा बुझ्नेछौ ।

प्रारम्भिक कालमा घडीलाई हातमा लगाउने चलन थिएन । करिब १६औँ देखि १९औँ शताब्दीको सुरुवातसम्म घडी मुख्यतः खल्तीमा राखेर प्रयोग गरिन्थ्यो । यस्ता घडीहरूलाई ‘पकेट वाच’ (Pocket Watch) भनिन्थ्यो । आकारमा ठूलो, तौलमा भारी र बनावटमा जटिलता भएकाले त्यतिबेला यी घडीलाई हातमा बाँध्ने कल्पना नै गरिएको थिएन । किनकि यी पकेट वाचहरू पूर्ण रूपमा मेकानिकल (Mechanical) प्रणालीमा आधारित थिए । भित्र गियर, स्प्रिङ, ब्यालेन्स ह्विल (gear, spring र balance wheel) जस्ता अत्यन्तै नाजुक पार्टहरू हुन्थे । यसमा कुनै battery वा automatic system थिएन । जसलाई सानो झट्काले पनि असर पार्न सक्थ्यो । 

घडी सुरक्षित राख्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यसैले पुरुषहरूले सानो चेनको सहायताले घडी कोट वा पाइन्टको खल्तीमा राख्थे ।

 

‘क्राउन’ किन दायाँपट्टि राखियो?

यस्ता मेकानिकल घडी चलाइराख्न नियमित रूपमा winding गर्नुपर्थ्यो ।  किनकि spring ले stored energy दिन्थ्यो । त्यसैले प्रयोगकर्ताले क्राउन (Crown) (घडीको साइडमा रहेको सानो घुमाउने बटन) घुमाएर spring कस्नु आवश्यक थियो । यसरी क्राउन घुमाउँदा भित्रको spring कसिन्थ्यो । त्यसपछि मात्र घडी चल्थ्यो । 

यही कारण घडी निर्माता कम्पनीहरूले क्राउन दायाँपट्टि राख्न थाले, ताकि प्रयोगकर्ताले आफ्नो बलियो हात प्रयोग गरेर सजिलै winding र time-setting गर्न सकून् । जब क्राउन दायाँपट्टि राखियो, तब घडी देब्रे हातमा लगाउँदा त्यो बटन सजिलै पहुँचमा आउँथ्यो । यसरी घडी नखोली समय मिलाउन सम्भव भयो । 

 

पहिलो आधुनिक हातेघडी 

पछि १९०० को दशकमा आएर मात्र पुरुषहरूले हातमा घडी लगाउने चलन आएको हो । यसको सुरुवात १९०४ मा Louis Cartier ले आफ्ना पाइलट साथी Alberto Santos-Dumont का लागि बनाएको विशेष हाते घडीबाट भएको मानिन्छ । विमान उडाउँदा खल्तीबाट घडी निकाल्न गाह्रो भएपछि Santos-Dumont का लागि हातमा बाँध्ने घडी बनाएको भनिन्छ । यसबाट नै पुरुष हातेघडी (Wrist watch) को आधार तय भयो । त्यसपछि Cartier लगायत अन्य ब्रान्डहरूले पनि crown दायाँपट्टि राख्ने डिजाइनलाई मानक बनाए ।

 

पहिलो विश्वयुद्ध र wristwatch को व्यापक प्रयोग

पहिलो विश्वयुद्ध (1914–1918) ले यसलाई थप टेवा दियो । युद्धमा रहेका सैनिकहरूको आक्रमण, सुरक्षा, तालमेल सबै समयमै आधारित हुने भएकाले बारम्बार समय हेर्नुपर्थ्यो । तर खल्तीबाट घडी निकालेर हेर्नु युद्धको अवस्थामा जोखिमपूर्ण थियो । यही व्यवहारिक कठिनाइका कारण सैनिकहरूले घडीलाई डोरी वा पट्टाले हातमै बाँध्न थाले ।

सुरुका दिनमा रेल्बेमा काम गर्ने र सैनिकहरूले घडीलाई नै छालाको पट्टा वा सानो pouch मा राखेर हातमा बाध्थे । यही अभ्यासबाट wrist watch को प्रारम्भिक रूप देखापर्‍यो । तर ती प्रारम्भिक हातेघडीहरू आजका जस्ता battery-powered वा automatic थिएनन् । सबै घडी पूर्ण रूपमा hand-wound mechanical प्रणालीमा आधारित थिए ।

 

किन देब्रे हात नै रोजियो त?

सैनिकहरू प्रायः हतियार दायाँ हातले चलाउँथे । दायाँ हात मानिसको मुख्य काम गर्ने हात भएकाले त्यसमा घडी लगाउँदा बारम्बार ठोक्किने, झट्का लाग्ने, खरोंच पर्ने र ध्यान भंग हुने सम्भावना बढी हुन्थ्यो । साथै mechanical घडीका भित्री भागहरू निकै संवेदनशील हुने भएकाले यस्ता झट्काले गर्दा घडीको accuracy घट्न सक्थ्यो ।

तर देब्रे हात दाहिने भन्दा तुलनात्मक रूपमा कम प्रयोग हुने भएकाले घडी त्यहाँ लगाउँदा ठक्किने वा घडीलाई कुनै प्रकारको क्षति नहुने भयो । यसले घडीको भित्री संरचना सुरक्षित राख्थ्यो र यसको आयु पनि बढ्थ्यो । त्यसैले सुरक्षाका हिसाबले पनि देब्रे हात उपयुक्त मानियो ।

यसरी crown को डिजाइन, दायाँ हातको प्रयोग र mechanical घडीको संवेदनशील संरचनाले घडी देब्रे हातमा लगाउने अभ्यास क्रमशः स्थापित हुँदै गयो । समयसँगै यो अभ्यास सामाजिक परम्परामा रूपान्तरण भयो ।

पछि १९०० को दशकमा घडी कम्पनीहरूले पनि strap design, button placement र सम्पूर्ण ergonomics देब्रे हातलाई केन्द्रमा राखेर विकास गर्न थाले । र बजारमा आउने अधिकांश घडीहरू “left-wrist default” अनुसार डिजाइन हुन थाले ।

 

देब्रे हातमै लगाउनु पर्ने हो त?

पछिल्लो समय आधुनिक घडीहरू धेरै मजबुत भइसकेका छन् । अधिकांश घडि automatic वा battery-powered छन्, जसमा दैनिक winding को आवश्यकता पर्दैन । shock-resistant प्रविधि आइसकेको छ, जसले सामान्य झट्काले घडी बिग्रने सम्भावना निकै कम बनाएको छ ।

त्यसैले प्राविधिक रूपमा हेर्दा आज घडी जुनसुकै हातमा लगाए पनि खास फरक पर्दैन । बायाँ हातले काम गर्ने मानिसहरूले प्रायः दायाँ हातमै घडी लगाउँछन्, किनकि उनीहरूको लागि त्यो नै सहज हुन्छ ।

तर पनि विश्वभर अधिकांश मानिस देब्रे हातमै घडी लगाउँछन्, किनकि यो अभ्यास इतिहास, डिजाइन र सामाजिक बानीबाट गहिरो रूपमा बसिसकेको छ ।

घडी देब्रे हातमा लगाउने चलन कुनै संयोग होइन । यसको जरा शताब्दीऔ पुरानो mechanical प्रविधि, दायाँ हातको प्राथमिक प्रयोग र घडीलाई सुरक्षित राख्ने व्यवहारिक सोचसँग जोडिएको छ । सुरुमा सुविधा र संरक्षणका लागि अपनाइएको यो अभ्यास समयसँगै विश्वव्यापी परम्परा बन्यो ।

आज हामी आधुनिक प्रविधिको युगमा छौँ, तर हाम्रो हातमा बाँधिएको घडी अझै पनि त्यो पुरानो इतिहासको मौन साक्षी बनेर टिकिरहेको छ ।

#Watch On YouTube

0 Icon description
Babina Timalsina